समाचार

छोरी जन्माउने ४८ जना आमाले पाए प्रोत्साहन भत्ता

२९ पुष, बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई १ हजार भत्ता दिने निर्णय गरेसंगै हालसम्म ४८ जना आमाहरूलाई प्रोत्साहन भत्ता दिएको छ ।  स्वास्थ्य सस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिदै आएको सस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप चार सय बाहेक गाउँपालिकाले दिएको थप एक हजार प्रोत्साहन भत्ता बितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए ।
उनले भने, ‘आ.व.२०७४/७५ को साउनदेखि कात्तिकसम्ममा ४८ जना आमाहरूलाई सो रकम वितरण गरिसकेका छौं ।” गाउँपालिकाको यो निर्णयले दोगडाकेदार गाउँपालिकाका महिला निकै खुसी भएका छन् । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए बापत गाउँपालिकाले प्रोत्साहन भत्ता दिंदा जन्मिएका बालबालिकालाई न्यानो लुगा कपडा किन्न सजिलो भएको दोगडाकेदार ६ का रुवसी बिकले बताइन ।
“पैसा कमै भएपनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो, 'उनले भनिन', दोगडाकेदार गाउँपालकाले छोरी जन्मिदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको छ ।”
यो कार्यले आमाहरूलाई पनि साहस प्राप्त हुने र घरमै हुने विभेदको अन्त्य पनि हुने गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन । छोरी जन्मिदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।


यसमा तपाईको मत