समाचार

काभ्रेमा बन्ने भयो विमानस्थल, निर्माणस्थलको टुंगो १५ दिनभित्रै लाग्ने

वैशाख १८ , काभ्रे । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेमा आन्तरीक विमानस्थल निर्माणका लागि १५ दिनभित्रै स्थान छनौट गर्ने भएको छ । अहिले चर्चामा रहेका तीनवटा स्थानमध्ये उपयुक्त स्थान छनौट गर्नको लागि एक कार्यदल समेत गठन गरिने भएको छ । पर्यटनमन्त्री रबिन्द्र अधिकारीले मंगलबार काभ्रेका प्रस्तावित तीनवटै विमानस्थलको स्थलगत अध्ययन गरेपछि यस्तो निर्णय सुनाएका हुन् । बनेपा नगरपालिकाको नागीडाँडा र धुलिखेल नगरपालिकामा पर्ने ठूलीचौरको यसअघि नै प्रारम्भिक अध्ययन सकिएको थियो । 
हालैमात्रै चर्चामा आएको चिसापानी ठूलीचौरको पनि मन्त्रीसहितको टोलीले अध्ययन गरेको छ । तर, यो काठमाडौंबाट दूरीका हिसाबले नाँगीडाडा र ठूलीचौर विमानस्थलभन्दा टाढा हुने विज्ञहरु बताउँछन् । ठूलीचौर विमानस्थल वरपर रहेका स्थानीयहरुले त्यहाँको पर्यटकीय क्षेत्र ध्वस्त हुने भन्दै विमानस्थल निर्माण गर्न उचित नहुने बताउँदै आएका छन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशन संजीव गौतमका अनुसार ठूलीचौरमा विमानस्थल निर्माण गर्ने हो भने ६० प्रतिशत बराबरको जग्गा अधिग्रहण गर्नुपर्छ । तर, नागीडाडामा गर्ने हो भने २० प्रतिशत मात्रै निजी जग्गा अधिग्रहण गरे पुग्नेछ । 
यि दुवै स्थानमा १२ सय मिटरको विमानस्थल निर्माण गर्नका लागि कुल ५ अर्ब बराबरको खर्च लाग्ने गौतम बताउँछन् । ८ सय मिटरको बिमानस्थल निर्माण गर्ने हो भने चाही साढे ३ अर्ब मात्रै लाग्नेछ । यसअघि भएको प्रारम्भिक संभाव्यता अध्ययनको रिपोर्टमा उल्लेख भएअनुसार नागीडाँडामा बिमानस्थल निर्माणका लागि २० देखि ३० मिटरसम्म जमीन कटान गर्नुपर्छ । र, ठूलीचौरमा बिमानस्थल निर्माण गर्ने हो भने चाँही ४५ मिटरसम्म जमिन कटान गर्नुपर्छ । 
तर, यि दुवै स्थानमामध्ये जुनकुनै स्थानमा विमानस्थल निर्माण गर्दा पनि ठूला विमान भने ल्यान्ड गर्न सकिँदैन । दुवै स्थानमा २५ देखि ३० वटा विमान पार्किङ गर्न मिल्ने गरी विमानस्थल निर्माण गर्न सकिन्छ । साथै विमानस्थल ३ सय मिटरसम्म चौडा बनाउन सकिन्छ । मौसमका हिसावले दुवै स्थानमा कुइरो नलाग्ने प्रारम्भिक अध्ययनमा देखिएको गौतम बताउँछन् ।


यसमा तपाईको मत