समाचार

सूर्यविनायक-धुलिखेल सुरुङमार्ग बनाउन यही महिना ऋण सम्झौता हुने

वैशाख १८, भक्तपुर । अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सुरुङमार्ग निर्माणका लागि यही मे महिनामा ऋण सम्झौता हुने भएको छ।
सुरुङमार्ग निर्माणका लागि नेपाल र जापान सरकारका बीचमा सम्झौता गर्ने तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। उनले यहि महिनामा जापानी टोली ऋण सम्झौताकालागि नेपाल आउने समेत बताए। नेपाल र जापानका बीचमा मे मा हुन लागेको द्विपक्षीय बैठकले सुरुङमार्ग र सडक विस्तार सम्बन्धी निर्णय लिने बताइएको छ। महाशाखाका अनुसार मे अन्तिम साता जापानी टोली नेपाल आउनेछन्। भक्तपुरको पलाँसे नजिकैको गणेश मन्दिर छेउबाट धुलिखेलतिर सुरुङमार्ग निर्माण गर्न लागिएको वैदेशिक महाशाखाले जनाएको छ। यो खण्डमा सुरुङमार्गसंगै १६ किलोमिटर सडक पनि ८ लेनमा विस्तार गर्न लागिएको महाशाखाले जनाएको छ। सुरुङमार्ग र सडक विस्तारका लागि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमा केही प्रतिशत नेपालको पनि लगानी रहने महाशाखाले जनाएको छ। अहिले सुरुङ मार्गको सम्भाव्यता अध्ययन भैसकेको छ। ऋण सम्झौता भएपछि एक बर्षमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)तयार पार्ने र तीन वर्ष भित्रमा सडक विस्तार र सुरुङमार्ग निर्माण सक्ने लक्ष्य रहेको महाशाखाले जनाएको छ।
 


यसमा तपाईको मत