समाचार

काभ्रेमा अज्ञात समूहद्वारा क्रसर उद्योगमा आगजनी, १० करोडको क्षति, सेनाले बम निष्क्रिय पार्यो

बैशाख १, काभ्रे । काभ्रे नमोबुद्ध नगरपालिका –६ मा रहेको ब्लू साईन रोडा ढुंगा उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ ।
काँग्रेस नेता कुन्साङ लामाले सञ्चालन गरेका उद्योगमा शुक्रबार राती १२ बजे ८र९ जनाको समूहमा गएका व्यक्तिहरुले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सहकुल थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको छ भने अन्य ६ वटा ट्रिपर तोडफोड भएको छ । सञ्चालक कुन्साङ लामाले केही हतियारधारीहरु आएर क्रसरमा भएको आफ्ना कर्मचारीहरुलाई एउटा कोठामा थुनेर पेट्रोल छर्केर आगजनी गरेको जानकारी दिनुभयो । आगजनी र तोडफोडमा संलग्नको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रमुख एसपी थापाले जानकारी दिनुभयो । आगजनी र तोडफोडबाट झण्डै १० करोडको क्षति भएको जनाइएको छ । यसैविच ब्लु साईन रोडा ढुंगा उद्योग जाने बाटोमा राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाले निष्क्रिय पारेको छ । चौकीडाँडा –सिपाली जाने बाटोको प्रवेशद्धार चौकीडाँडा, दाप्ता खोलामा भेटिएको प्रेसरकुकर बम सेनाले निष्क्रिय पारेको एसपी थापाले जानकारी दिनुभयो । घटनामा विप्लब माआवादी संलग्न भएको आशंका गरिए पनि अहिलेसम्म घटना कसले घटायो, बम कसले राख्यो भनेर थाहा नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
 


यसमा तपाईको मत